बहुमत सदस्यसहित निर्वाचन आयोगमा जाने जसपा यादव पक्षको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा उपस्थित हुन निर्देशन पनि दिएको छ।

Advertisement

शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए। त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकमा संसदीय दलबाट पारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिए। कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया शुरू हुने यादवले बताए।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो। शुक्रबार आयोगको प्रक्रिया रोक्न भन्दै जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेका थिए।

More News last news
Loading...