‘देउवाले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्छौं, सरकारलाई तह लगाउँछौँ ‘

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन्।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए।

Advertisement

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने।

कुनै बेला राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी फुटाउनकै लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा सांसद् बस्नेतले मधेशवादी दलका केही नेतालाई अपहरण शैलीमा काठमाडौँ ल्याएर अर्पाटमेन्टमा राखेको आरोप लागेको थियो ।

‘महाभियोग लगाउनेबारे नसोच’

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे।

अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने बस्नेतले बताए ।

उनले एमालेका मान्छेले भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि चुनौती दिए । ‘एमालेका मान्छे समातेर देखाउ, कहिँ भ्रष्टाचारी छन् भने प्रुभ गरेर देखाउ, होइन भने काँक्रो चोरे आफू खाने बियाँ अर्काको मुखमा लगाएर स्याल हुइयाँ गर्ने दिन सकिए’ उनले भने।

नेता बस्नेतले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने कुरा आइरहेको भन्दै त्यसो गरेमा युथ फोर्सले तह लगाउने जिकिर गरे।

More News last news
Loading...