काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्। रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।
संसद बैठक बस्नुअघि उनले राजीनामा फिर्ता लिएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो।
तर, सभामुख सापकोटाले स्वीकृत भने गरेका थिएनन्। रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद बढ्दै गएपछि विवाद समाधानका लागि गठन भएको कार्यदलमा उनी नेपाल पक्षबाट संयोजक थिए।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री बनेका प्रतिपक्षी दलका नेता शेर बहादुर देउवालाई विस्वासको मत दिने विषयमा विवाद हुँदा राजीनामा बुझाएका रावललाई केही दिनदेखि सुदुरपश्चिम प्रदेशका एमाले सांसद् र पार्टीले राजीनामा फिर्ता लिन ताकेता गर्दै आएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
