काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएको हो ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५३६ जना रहेका छन् । यस्तै भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारी तथ्यांक अनुसार काठमाडौं उपत्यकामा हिजो बुधबार ६९७ कोरोना संक्रमित फेला परेका थिए। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ४९० जना रहेका थिए । यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका थिए ।
मन्त्रालयले आजमात्रै कोरोना संक्रमणदर बढ्दो गएकाले तेस्रो लहर आउन सक्नेतर्फ सचेत रहन आग्रह समेत गरेको छ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकोले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयले जनाएको हो ।
तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोधसमेत मन्त्रालयले गरेको छ । नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४४३ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
