काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन्।
स्पष्टीकरण मागिएमध्येका माधव नेपाल पक्षका सांसद मेटमणी चौधरीले स्पष्टीकरणको जवाफ बुझाउने तयारी भइरहेको बताए।
गएको सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय अनुसार बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो।
स्पष्टीकरण सोधिएका सांसदहरुमा नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी रहेका छन् ।
नेता मुकुन्द न्यौपानेले पनि स्पष्टीकरण बुझाउने तयारी गरेको बताए। ‘अध्यक्ष ओलीले धेरै असंवैधानिक काम गर्नुभएको छ। र पनि उहाँले हामीलाई स्पष्टीकरण सोध्नुभएको छ, अब हामी पनि उहाँलाई प्रश्नसहित स्पष्टीकरण सोध्छौ’, न्यौपानेले भने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
