काठमाडौँ । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ। हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो काठमाडौँमा खोप ल्याउनेछ।
आजै फेरि जहाज खोप लिन बेइजिङ जाने निगमले जनाएको छ । पर्सि ९ गते जाने जहाजले १० गते फेरि खोप नेपाल ल्याउने छ।
यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने प्रतिबद्धता जनाइसकेको छ। केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यस्तै कोरोना विरुद्धको खोप अभियानअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप अहिलेसम्म ८१ हजारभन्दा धेरैले लगाइसकेका छन्।
जोन्सन एण्ड जोन्सन खोप अभियान अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मात्र सञ्चालन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८५० डोज खोप असार २८ गते नेपाल आइपुगेको थियो।
यो खोप वैज्ञानिक हिसाबले एक डोज मात्रै लगाउँदा पुग्छ। यो खोपको विषयमा धेरैले आशंका गरे पनि खोप सुरक्षित रहेको विज्ञहरुले बताउँदै आएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
