मेयर पदका लागि चुनाव लड्ने सरिता गिरीको घोषणा

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु।’

Advertisement

लहान नगरपालिकाका जनता मेयर मुनी साहको अधिनायकवादी चरित्रबाट पीडित रहेको भन्दै उनले फेसबुकमा लेखेकी छन्, ‘अब ६ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्नेछु।’

उनले आफूसँग सहयोग र सम्पर्कका लागि अपील समेत गरेकी छन्। स्थानीय स्तरमा लोकतन्त्र, समय सुहाउँदो विकास नीति र पारदर्शिता नभए सबैको विकास हुन नसक्ने उनले बताएकी छन्।

तत्कालीन समाजवादी पार्टीबाट समानुपातिक सांसद रहेकी गिरीलाई नयाँ नक्सालाई निशान छापमा समावेश गर्ने गरी गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्ने क्रममा पार्टीको ह्वीप मानेकी थिइनन्। ह्वीप नमानेपछि पार्टीको निर्णय अनुसार २५ असार २०७७ मा संघीय संसद सचिवालयले उनलाई प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरेको थियो।

More News last news
Loading...