काठमाडौँ । नेपाली काँग्रेसबाट दोस्रो चरणमा मन्त्री हुनेमा ४ जना नेताको नाम चर्चामा रहेको छ। पार्टी भित्रका गुटलाई मिलाउने गरी मन्त्रीका लागि भागबन्डा गर्न लागिएको छ।
मन्त्रीका लागि डा. मीनेन्द्र रिजाल, दीलेन्द्र प्रसाद बडु, पुष्पा भुसाल र उमाकान्त चौधरीको नाम चर्चामा रहेको छ।
पहिलो चरणमा मन्त्रिपरिषद् गठन हुँदा नै रिजाल मन्त्री हुने चर्चा थियो। तर, उनलाई दिने मन्त्रालयको विषयमा कुरा नमिल्दा प्रधानमन्त्री देउवाले आफ्नो पार्टीबाट २ जना मात्रै बालकृष्ण खाँण र ज्ञानेन्द्र कार्कीलाई मन्त्री बनाएका थिए।
पार्टी भित्रको गुटगत राजनीतिमा रिजाल महामन्त्री डा. शशाङ्क कोइराला निकट मानिन्छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेता बडु मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ।
प्रतिनिधिसभामा सचेतक रहेकी भुसाललाई पनि मन्त्रीमण्डलमा सहभागी गराउन लागिएको छ। उनी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा निकट सांसद हुन्।
हिजो साउन ३ गते प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत पाएसँगै भोलि या पर्सी दोस्रो चरणमा सरकार विस्तार गर्ने तयारी छ ।
प्रधानमन्त्रीलाई विस्वासको मत दिएका माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समुह) र जनता समाजवादी पार्टीबाट पनि मन्त्री चयन हुनेछन् ।
माओवादीबाट जनार्दन शर्मा र पम्फा भुषाल मन्त्री चयन भइसकेका छन् भने देवेन्द्र पौडेल, देव गुरुङ, वर्षमान पुन, कृष्ण बहादुर महरा लगायतका नेताहरु मन्त्री बन्ने तयारीमा छन् ।
यस्तै, जनता समाजवादीबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव छन् भने महन्थ ठाकुर समुहबाट राजेन्द्र महतो लगायतका नेताहरुको मन्त्रीका लागि हात उठाएर बसेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
