काठमाडौँ । सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो।
बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए।
आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने तथा कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय भएको हो ।
मंगलबार साँझ साढे ८ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि देउवा पदभार ग्रहणका लागि सिधै सिंहदरबार पुगेका थिए।
काँग्रेस सभापति देउवा सर्वोच्च अदालतले परमादेश दिएपछि मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा शुरुमा जारी गरेको विज्ञप्तिमा देउवाले आपत्ति जनाएपछि साँझ ६ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम ढिला भएको थियो।
राष्ट्रपतिले शुरुमा संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। तर, देउवाले नियुक्ती सच्याएमात्र शपथ लिने अडान लिएपछि नियुक्तीको व्यहोरा सच्याइएको थियो।
देउवा २०७४ मंसिर ४ मा भएको आम निर्वाचनमा काँग्रेस पराजित भएपछि सरकारबाट हटेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्थापित गरेका थिए। उनै देउवा करिब ४१ महिनापछि ओलीलाई विस्थापित गर्दै पुनः सत्तामा पुगेका छन्।
अब देउवाले साउन २९ सम्म प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाउन देउवा असफल भए प्रतिनिधिसभा विघटन हुनेछ र देश चुनावमा जानेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
