देउवाको सपथ ४ बजेलाई तय, २ बजे ओलीको बिदाई सम्बोधन

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेअनुसार राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम राखेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले जनाएअनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको छ। र, सोहीअनुसार पत्राचार गरिएको पनि उनले जनाए । देउवाले आजै माओवादी केन्द्र र कांग्रेसबाट दुई जनालाई समावेश गरेर सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

Advertisement

प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन् । उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दै छन्।

विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा (एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिए।

यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसकेका छन्।

More News last news
Loading...