काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा करिबकरिब सहमति जुटेको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार करिब ७ घण्टा बसेको कार्यदलको बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका छन्।
‘कार्यदलको आजको बैठक निकै लामो र सघन छलफलमा बिताएका छौं । झन्डैझन्डै ७ घण्टा ब्यतित गरेका छौं । पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं,’ बैठकपछि कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने,
सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन अर्थात् भाषिक परिमार्जनलगायतका केही विषयहरुमा भोलि केहीबेर बस्न पर्ने भएको छ । तर अहिलेका जति पनि प्रश्न छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइ पुर्याएका छौं । एमाले नेता कार्यकर्ताको चिन्तलाई दूर गर्नेगरी भोलि सहमतिका साथ टुंग्याउँछौं ।’
अर्का कार्यदल सदस्य गोकर्ण विष्टले पनि धेरै कुरामा सहमति जुटेको बताए। ‘छलफल गर्दै जाँदा समय अभाव भयो । बाँकी रहेका विषय भोलि टुंग्याउँछौं । हामी सहमति गर्छौं,’ विष्टले भने।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो। कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
