वीर अस्पतालमा ८३१ दरबन्दी थप, बेड संख्या बढाएर ९६६ पुर्‍याइयो

काठमाडौँ । सरकारले वीर अस्पतालमा ८३१ कर्मचारीको दरबन्दी थप गरिएको छ भने १९ विभागलाई बढाएर २९ वटा र ७ इकाईलाई बढाएर ९ पुर्‍याइएको छ।

थपिएका दरबन्दीमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिव समेत छन्। २१ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो।

Advertisement

दरबन्दी थपिएका १८६ जनासँगै वीरमा चिकित्सकको संख्या ३६० पुगेको छ। थपिएका चिकित्सकमा ११ औं तह (प्रमुख कन्सल्ट्यान्ट)का १७ जना, नवौं र दशौं तह (कन्सल्ट्यान्ट) ११६ जना, आठौं तह (मेडिकल अधिकृत) ४९ जना र डेन्टल सर्जन चार जना रहेका छन्। यसअघि ११ औं तहका चिकित्सक ३७ जना, दशौं र नवौं तहका चिकित्सक ७३ जना र मेडिकल अधिकृत ६४ जना रहेका थिए।

यसअघि १८ जना इञ्चार्ज र स्टाफ नर्समा १६५ जनाको दरबन्दी रहेको वीर अस्पतालमा नयाँ दरबन्दी ७०४ जना थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ। यसैगरी स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौं र सातौं गरी ५३ दरबन्दी थपिएको छ।

त्यसैगरी श्रेणीविहीन कर्मचारीको १५५ दरबन्दी कटौती गरिएको छ। श्रेणीविहीन कर्मचारीको दरबन्दी यसअघि २३३ थियो। त्यस्तै बीर अस्पतालमा बेड संख्या बढाएर ९६६ पुर्‍याएको छ। यसअघि ४६० बेड संख्या रहेकोमा बढाएर ९६६ पुर्‍याइएको हो।

More News last news
Loading...