धनगढी । दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको ज्यान गएको छ। नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिंदा दुई जना र पहिरोमा परेर थप एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मन्जरी ठगुन्नाको ज्यान गएको जानकारी दिए।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि ज्यान गएको डीएसपी भट्टले बताए। उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ। पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए।
जलविद्युत आयोजना बाढीले बगायो
नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ। अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको एसपी भट्टले जानकारी दिए।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि बगाएको उनले बताए।
जिल्ला सदरमुकामबाट झण्डै ८ घण्टाको पैदल दूरीमा रहेको उक्त ठाउँमा पहिरोमा फसेका मानिसको उद्धारका लागि प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ। स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
