काठमाडौँ । नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका हुन्।
यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो।
पोखरेलको संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ। यस्तै पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको छ।
यसबाहेक भदौ ५ गते वडास्तरीय अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ। यस्तै ३२ वटा पार्टीका केन्द्रीय विभाग प्रमुखलाई पनि पूर्णता दिने प्रस्ताव पनि गरिएको छ। आम निर्वाचनको कार्यतालिकासँग नजुध्ने गरि पार्टी अधिवेशनमा लाग्नुपर्ने पनि पोखरेलले बताए।
उनले पार्टीमा देखिएको असामान्य र विग्रहका बीच संगठन थप व्यवस्थित गर्नुपर्ने पनि बताए। माधव नेपाल पक्षको माग मुताबिक १० औँ महाधिवेशन आयोजक कमिटी भंग गरि केन्द्रीय कमिटीमा फर्किँदा पनि बैठकमा सहभागी नहुनु गम्भीर भएको पनि उनले बैठकमा बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
