राष्ट्रियसभामा राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रिय सभा सचिवालयका अनुसार आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्नेगरी तयारी थालिएको छ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन्। बिहीबार हिउँदे अधिवेशन सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन्।

Advertisement

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने चासो व्यक्त गरेको र त्यसको तयारी थालिइसकिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए।

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट सुरु हुँदै छ। प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक सुरु हुन लागेको हो। बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यसूची रहेको छ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरूले राष्ट्रिय सभामा मुलुकमा विविध समस्याका विषय उठाउने तयारी गरेका छन्। सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो। दोस्रो पटक गत वैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ।

एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनुपर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढीपहिरोले देशका विभिन्न भागमा पुर्‍याएका क्षति र राहत तथा उद्धारकार्यका बारेमा जानकारी गराउने राष्ट्रिय सभा सचिवालयले जनाएको छ।

More News last news
Loading...