ज्वाला संग्रौलामाथि तीन कसूरमा अनुसन्धान हुँदै, सरकारी कागजपत्र कीर्ते गरेको आरोप

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरी परिसर, काठमाडौँका प्रमुख अशोक सिंहले अनुसन्धानका क्रममा सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको बताए।

‘पक्राउ गरेर खनतलासी लिँदा संग्रौलाबाट जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागज भेटिएको थियो,’ सिंहले भने, ‘ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पत्र लेख्दा फर्जी भेटिएको हो।’

Advertisement

मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दका अनुसार संग्रौलासँग पाँचथरको शैलुङ गाउँपालिकाबाट जारी भएको जन्मदर्ताको प्रमाणपत्र भेटिएको थियो। ‘४ असार २०७४ मा जारी भएको जन्मदर्तामा गाउँ विकास समिति उल्लेख थियो,’ चन्दले भने, ‘जबकि त्यसअघि नै गाविस खारेज भएर गाउँपालिका भइसकेको थियो, यही शंका लागेर थप प्रमाणीकरणका लागि पत्र पठाएका थियौं।’

त्यसक्रममा संग्रौलाको जन्मदर्तामा हस्ताक्षर भएका सचिवले पनि त्यसबेला गाउँपालिकामा काम गरेको नदेखिएको प्रहरी बताउँछ। उनका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरेको चन्द बताउँछन्।

उनका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ। ‘डिभोर्सको पत्र भेटिए दुवैजना सँगै थिए,’ उनी भन्छन्, ‘कागजपत्रबारे विस्तृत अनुसन्धान हुँदैछ।’

जापानमा बसेर सामाजिक सञ्जालमा उग्र स्टाटस लेख्दै चर्चामा आएकी संग्रौलालाई प्रहरीले ६ असारमा कुटपिटको अभियोगमा पक्राउ परेको थियो ।

पुरानो साथी खुश्बु (नविता) घिमिरेसँग सामाजिक सञ्जाल फेसबुकमा भएको आरोप–प्रत्यारोप प्रहरी वृत्त, गौशालासम्म पुगेको थियो।

गौशालामा दुईपक्षबीच छलफल चलिरहेका बेला उनले प्रहरीकै सामुन्ने नवितालाई कुटपिट गरेको भन्दै किटानी जाहेरी परेको छ। दुवै पक्षलाई छलफल गराएर प्रहरीले मिलापत्र गराएर घटना सामसुम भएको थियो।

अनलाइन खबरबाट साभार गरिएको समाग्री

More News last news
Loading...