बझाङ । सेती नदीले खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ।
कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन्। नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर-पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन्।
पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ। केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन।
जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।
उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
