सुर्खेत । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ। राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ।
सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ। टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती युवकको प्राथमिक उपचार पनि गरेको देखिन्छ।
शाहीले सामाजिक सञ्जालमा आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन्।
शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै लकडाउनमा समस्यामा परेकाहरुको उद्दार तथा राहतमा जुटिरहेको छ। निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई बचाउन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा रहेको बताउँदै उनले भिडियोमा उल्लेख गरेका छन्।
सुर्खेत प्रहरीका अनुसार शाहीको समूह र स्थानीयबीच झडप भएको हो। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
सो आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको उनले बताए। शाहीमाथि योसँगै सुर्खेतमा तीन पटक आक्रमण भएको छ। शाहीको समुहको उपचार कर्णाली प्रदेश अस्पतालमा भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
