गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दैछन्।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएपछि ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Advertisement

प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ।

६० सदस्यीय प्रदेशसभामा एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन्। विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ।

प्रदेशसभामा एमाले बाहेकका विपक्षी दलहरु भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल तुल्याउन एकजुट भएका छन्। प्रदेशसभामा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जसपा (साविक नयाँ शक्ति) पार्टी गरी चारवटै दल वर्तमान सरकारविरुद्ध एकजुट भएका हुन्।

चारवटै दलले बुधबार नै आफ्ना सांसदलाई विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदानका लागि ह्वीप जारी गरिसकेका छन्। प्रदेशसभामा काँग्रेसको १५, माओवादी केन्द्रको सभामुख बाहेक ११, राष्ट्रिय जनमोर्चाको ३ र जसपाको २ सांसद गरी जम्मा ३१ मत पुग्छ।

तर जनमोर्चाका सांसद कृष्ण थापा सुरुदेखि नै वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने पक्षमा छन्। सोही कारण पार्टीको कारवाहीसमेत झेलिसकेका उनी उक्त कारवाही विरुद्ध दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि पूर्ववत् अवस्थामा फर्किएका हुन्।

यसअघि पनि दलको निर्देशनलाई मान्न अस्वीकार गरेका उनले विश्वासको मतसम्बन्धी प्रस्तावमा कस्तो भूमिका निर्वाह गर्ने हुन् भन्ने प्रस्ट भइसकेको छैन। उनले विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन जनाएको खण्डमा पनि सरकारलाई बहुमत जुटाउन थप दुई सांसद आवश्यक हुन्छ।

यता उनले साथ दिएको खण्डमा भने विपक्षी गठबन्धनले ३१ सांसदको समर्थन सहित नयाँ सरकारका लागि दावी गर्न सक्छ।

More News last news
Loading...