काठमाडौँ । कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।
शैक्षिक सत्र २०७७ को कक्षा १० अत्यमा हुने एसईई परीक्षा भौतिक उपस्थितिमा दिन सक्ने अवस्था नरहेकोले सम्बन्धित विद्यालयले गरेको अन्तिम आन्तरिक मूल्याङ्कनबाट सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने, सो इकाइले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने निर्णय भएको छ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षा नतिजा विवरण तयार पार्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय भएको छ। अघिल्लो वर्ष पनि यही प्रक्रियाका आधारमा एसईई परीक्षा सञ्चालन गरिएको थियो।
कोरोना महामारीको दोस्रो लहरका कारण अहिले देश ठप्प छ भने भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। गत वर्ष पनि एसईई परीक्षा आन्तरिक मुल्यांकनबाटै भएको थियो।
कोरोनाका कारण लगातार दोस्रो वर्ष एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाट हुन लागेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
