काठमाडौँ । दोस्रो लहरको कोरोना संक्रमणबाट त्रिभूवन विश्वविद्यालयका शिक्षक, कर्मचारी सहित २१ जनाले ज्यान गुमाएका छन्।
आइतबार त्रिवि रजिस्ट्रारको कार्यालयले एक विज्ञप्ति गर्दै कोभिडको दोश्रो लहरबाट ११ जना शिक्षक तथा १२ जना कर्मचारीले ज्यान गुमाएको बताएको छ। साथै कोरोनाको पहिलो तथा दोश्रो लहरबाट ६ सय १६ जना शिक्षक, कर्मचारीहरु संक्रमित भएको जनाएको छ।
कोरोना संक्रमणबाट त्रिवि अन्तरगत शंकरदेव क्याम्पसका सह प्राध्यापक किशोर महर्जन, पद्मकन्या बहुमुखी क्याम्पसका सहप्राध्यापक डा।शेरजंग खड्का र उपप्रध्यापक विनय प्रसाई, अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्रध्यापक शंकर सुवेदीको ज्यान गएको छ।
त्यस्तै कोरोनाबाट शिक्षाशास्त्र केन्द्रीय विभाग कीर्तिपुरका उप प्राध्यापक दिपक मैनाली, भोजपुर बहुमुखी क्याम्पसका उपप्रध्यापक निमा शेर्पा, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजका उपप्राध्यापक उमेश यादव, महेन्द्ररत्न क्याम्पस ताहाचलका शिक्षण सहायक डोल बहादुर भण्डारी, ठाकुरराम क्याम्पस वीरगञ्जका आंशिक शिक्षक मनोज चौरसिया र महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजका आंशिक शिक्षक नवीन कर्णको ज्यान गएको हो।
त्रिभूवन विश्वविद्यालयले भौतिक उपस्थितिमा सञ्चालनमा रहेका सम्पूर्ण पठनपाठन र परीक्षाहरु स्थगित गरेको बताउँदै बैकल्पिक विधिबाट सञ्चालन गरिरहेको जनाएको छ।
हाल विश्वविद्यालयका ७९ शिक्षण इकाईहरुले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
