काठमाडौँ उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौँ । काठमाडौँ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ। ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराईले जानकारी दिए। काठमाडौँ उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ।

Advertisement

मंगलबार काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो।

प्रजिअहरुको बैठकले निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण कन्ट्रोल भएको निष्कर्ष निकालेका छन्।

यसै क्रममा पछिल्लो २४ घण्टामा काठमाडौँमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर भने ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन्।

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ।

More News last news
Loading...