काठमाडौँ । नेपालमा कूल संक्रमितको संख्या ५ लाख नाघेको छ। शनिबार ८९८० जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको हो।
पछिल्लो २४ घण्टामा २० हजार १०५ जनाको परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ८८४८ जना निको भएका छन्।
नेपालमा हालसम्म निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ। नेपालमा निको हुने दरमा केही सुधार भएर ७५।८ प्रतिशत पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२९ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको छ । कोभिड–१९ को संक्रमणबाट ६ हजार १५३ जनाले ज्यान गुमाइसकेका छन्।
जेठ १ यताको तथ्यांक केलाउँदा ८ दिनमा मात्र कूल ६७ हजार ५० जना संक्रमित थपिएका छन् । नेपालमा सक्रिय संक्रमितका संख्या १ लाख १५ हजार ८०६ जना रहेका छन्।
यसमध्ये एक लाख ८ हजार १०३ जना होम आइसोलेसनमा, ७ हजार ७०३ जना संस्थागत आइसोलेसनमा, १ हजार ७३२ जना आईसीयूमा र ५२३ जना भेन्टिलेटरमा रहेका छन्।
पछिल्ला ८ दिनमा देशभर भेटिने संक्रमितको संख्यामा खास अन्तर देखिएको छैन। यो महिना सबैभन्दा उच्च जेठ ३ मा ९२४७ जना संक्रमित फेला परेका थिए।
देशमा संक्रमितको संख्या बढी रहँदा काठमाडौँ उपत्यकामा भने संक्रमितको संख्यामा केही कमी आएको देखिन्छ। कूल संक्रमितमध्ये ३९ प्रतिशतसम्म संक्रमित काठमाडौँ उपत्यकामा फेला पर्ने गरेकोमा शनिबार यो २६ प्रतिशतमा झरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
