मध्यरातमा प्रतिनिधिसभा विघटन, राष्ट्रपतिद्वारा मध्यावधि चुनावको घोषणा

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छिन्।

उनले आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको घोषणासमेत गरेकी छिन्। राष्ट्रपतिले संसद भंग गरेर मध्यावधि चुनावको घोषणा गर्दा रातको एक बजेको थियो।

Advertisement

राष्ट्रपतिले शुक्रबार राति साढे १० बजेपछि शेरबहादुर देउवा र केपी ओली दुबैले प्रस्तुत गरेको नयाँ सरकार गठनको दाबी नपुगेको भन्दै दुबै दाबी खारेज गरिदिएका थिइन्।

त्यसपछि बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै कार्तिक २६ मङ्सिर ३ गते चुनाव गर्ने मिति प्रस्ताव गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रोचोटि हो। यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएकाे छ :

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषदबाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान् प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।

More News last news
Loading...