काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर एकै दिन ४ रेक्टर स्केल माथिका ६ वटा भूकम्प गएका छन्। बुधबार बिहानै लमजुङ केन्द्रविन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प भएयता लगातार ५ परकम्प गएका हुन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा पहिलो पटक ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो। उक्त भूकम्पले केही घर भत्किएका र केही मानिस पनि घाइते भएका थिए।
त्यसलगत्तै दोस्रो पटक बुधबार बिहानै ८ बजेर १६ मिनेट जाँदा ४ रेक्टर स्केलको अर्को परकम्प गयो। त्यसपछि लगातार बिहान ८ बजेर १७ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको, ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गए ।
त्यसपछि बेलुकी पुनः ९ बजेर २३ मिनेटमा ४ रेक्टर स्केलको र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गए। पहिलो भूकम्प गएपछि ५ वटा परम्प महशुस गरिएको हो।
भूकम्पपछि पटक पटक आएका परकम्पका कारण सर्वसाधारण त्रसित बनेका छन्। कोरोना महामारीको पीडा चलिरहेका बेला आएको भूकम्पले झन् अर्को पीडा थपिदिएको छ।
भूकम्पको धक्का कास्की, तनहुँ, लमजुंग, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा लगायतका जिल्लामा पनि महशुस गरिएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
