नेपाल, खनाल र गौतमबीच यस्तो सहमति !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्नबाट रोक्ने देखि नयाँ दल निर्माणसम्मको रणनीतिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहमत भएका छन्। आज तीन नेता बसेर यस्तो सहमति बनाएका हुन्।

विश्वस्त स्रोतका अनुसार आफ्नो समूहका २० प्रत्यक्ष निर्वाचित सांसदसहित २८ जनाको राजीनामा भोलि नै गर्ने र नयाँ दल दर्ताको प्रक्रियामा जाने सहमति समेत नेतात्रयले गरेका छन्। राजीनामा पत्र तयार भइसकेको र भोलि दर्ता गरिने बुझिएको छ।

Advertisement

ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि नेपाल, खनाल र गौतम बसेर कठोर कदम चाल्ने निष्कर्षमा पुगेको स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दियो। उनीहरुले भावी रणनीति समेत तयार गरेका छन्।

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेन देखि भद्र सहमति गरेपछि खनाल र गौतमलाई ब्रिफिङ गरेका थिए। सहमति अनुसार प्रत्यक्षतर्फ राजीनामा दिने सांसदहरुलाई उपनिर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउने, सरकारमा ६ जना मन्त्री पाउने र चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने विषय मुख्य छन्। सहमतिमा खनाल र गौतम सहमत भएपछि अगाडि बढ्ने निर्णय लिएका हुन्।

नेतात्रय बसेर नयाँ दलको खाका समेतलाई लगभग अन्तिम रुप दिएका छन्। नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ। अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन्। झलनाथ खनाललाई विशेष सम्मानित पद दिइनेछ।

दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ। जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ।

७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ। महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ।

More News last news
Loading...