काठमाडौँ । अब काठमाडौँ उपत्यकामा विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठानहरू पार्टी प्यालेसमा गर्न नपाइने भएको छ।
मङ्गलबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय गर्दै पार्टी प्यालेसमा विवाहलगायतका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाएको हो।
विवाहलगायतका कार्यक्रम घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ। तर घरमा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ।
यसअघि पहिलो चरणमा वैशाख १६ देखि २२ गतेसम्म र दोस्रो चरणमा वैशाख २९ गतेसम्मका लागि लागू गरिएको निषेधाज्ञा आज फेरि १५ दिनका लागि थपिएको हो।
सङ्क्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
उनले स्वास्थ्य मापदण्ड पालना भए–नभएको, मास्क प्रयोग र अनावश्यक हिँडडुल गर्नेमाथि कडा अनुगमन गरिने र मास्क नलगाउनेलाई जरिबाना गर्ने, अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेलाई होल्डिङमा राखिने बताए।
खाद्यान्न, अत्यावश्यक वस्तु, औषधिलगायतले पासको आधारमा र पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवतजावतमा सहजीकरण गरिने छ।
यस्तै मृत्यु संस्कार र बिरामी लिएर जिल्लाबाहिर जानुपर्ने अवस्थालगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने व्यवस्था मिलाइएको प्रजिअ पराजुलीले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
