काठमाडौँ उपत्यकामा निषेधाज्ञा लम्बियो, तरकारी पसल बिहान १० बजेसम्म खुल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा आउँदो जेठ १३ गतेसम्मका लागि थप भएको छ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

Advertisement

निषेधाज्ञाको अवधिमा पार्टी प्यालेस तथा होटलमा विवाह, व्रतबन्धलगायतका भोज गर्न पूर्ण रोक लगाउँदै घरमै गर्ने भएमा बढीमा १० जनामात्र सहभागी हुन पाउने व्यवस्था भएको छ।

बैठकले खाद्यान्न तथा तरकारीका पसल बिहान १० बजेसम्म खोल्न दिने तर फुटपाथमा तरकारीलगायतका कुनै पनि व्यापार गर्न नदिने व्यवस्था गरिएको बस्नेतले जानकारी दिए।

यस्तै सबै निर्माण कार्य पनि रोकिने भएका छन्। राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य रोक्ने निर्णय भएको उनले बताए।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको एक हप्ते निषेधाज्ञा २२ गतेदेखि फेरि एक हप्ता थपिएको थियो। निषेधाज्ञाका कारण सङ्क्रमण फैलिएर भयावह अवस्था आउनबाट रोकेको तर अहिले पनि जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको बस्नेतले जानकारी दिए।

More News last news
Loading...