पृथ्वीसुब्बा गुरुङको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न ३ दिनको समय

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका हुन्।

उनको राजीनामा स्वीकृत पनि भएको छ। प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन्।

Advertisement

प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन्।

यस्तै उनले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन्। गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले अकस्मात राजीनामा दिएका हुन्।

यसअघि अविश्वास प्रस्तावमा १५ वैशाखमा मतदान हुने कार्यसूची थियो। तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन। यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो ।

प्रदेश सभामा २ वैशाखमा अविश्वास दर्ता भएको थियो ।

More News last news
Loading...