काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणको अवस्था झन् झन् बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो। काठमाडौँ उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन्।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ५५ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
