काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन्।
नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको बुझिएको छ। पोखरेलले दिएको राजनीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरिसकेका छन्।
उनले राजीनामा दिएसँगै अविश्वासको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ। लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ हो ।
यसमध्ये जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निलम्बित छन् । हाल कायम रहेको सदस्य संख्या ८१ मध्ये एमालेका मात्रै ४१ सांसद छन् जुन बहुमत संख्या हो।
अर्को सरकार नबन्दासम्म पोखरेललाई नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्न प्रदेश प्रमुखले जिम्मेवारी तोकेका छन्। लुम्बिनी सभामा आइतबार अविश्वासको प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुंग्याउने गरी तयारी थियो।
अहिलेकै अवस्थामा अविश्वासको प्रस्तावको सामना गरेको भएपनि मुख्यमन्त्री पोखरेलको पक्षमा ८१ मध्ये ४१ मत सुरक्षित थियो। तर पोखरेलले गत साता मात्रै मन्त्री बनेका जसका ४ मन्त्रीलाई पाखा लगाएर अब एकल सरकार बनाउने बाटो खुलेको छ।
शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशनको एजेन्डामा छलफल भएको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
