नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकै दिन अहिलेसम्मकै धेरै थपिए

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ५७६३ जनामा संक्रमण पुष्टि भएको हो।

पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए। १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ। नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् ।

काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ मा पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन्।

गण्डकी प्रदेशको कास्कीमा २१२, लुम्बिनी प्रदेशको बाँकेमा ५५१, रुपन्देहीमा ४२२ र दाङमा २५१ जना संक्रमित फेला परेका छन्। कर्णालीमा सुर्खेतमा ९७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिममा कैलालीमा १२५ जना संक्रमित फेला परेका छन्।

नेपालमा हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा ४० हजार १०३ जना, संस्थागत आइसोलेशनमा ३ हजार ११० जना, आईसीयूमा ४०१ जना र भेन्टिलेटरमा ११० जना रहेका छन्।

१२ वटा जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत छन् जसमा काठमाडौँ उपत्यका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । १७ वटा जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररत छन्।

पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ।

पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

More News last news
Loading...