सार्वजनिक कार्यक्रममा सहभागी नहुन सरकारको आह्वान

काठमाडौँ । सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो।

सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने कार्यक्रमहरु नगर्न, नगराउन र सहभागी नहुन आह्वान गरेको छ।

Advertisement

त्यस्ता व्यक्ति र निकायहरुबाट त्यस किसिमका गतिविधिहरु भएमा खबरदारीसहित कारवाहीको दायरामा ल्याइदिएर सहयोग गर्न समेत मन्त्रालयले आह्वान गरेको छ।

देशभर पछिल्ला दिन कोरोना संक्रमतिको संख्या ह्वात्तै बढिरहेको छ। पछिल्ला २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कोभिड संकट ब्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो।

सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ।’

त्यस्तै सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।

बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

More News last news
Loading...