काठमाडौँ । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ।
आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।
बैठकमा सहभागी धेरैले लकडाउन गर्न नहुने मत राखेका थिए। तर कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए।
त्यसपछि सीसीएमसीले पहाडी जिल्लामा २०० र शहरमा ५०० सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्ने गरी संख्या तोकेको स्रोतको भनाइ छ।
पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
जसमध्ये भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौँमा १ हजार १३२ गरी १ हजार ४९८ जनामा संक्रमण पुष्टि भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
