काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको हो ।
सरकारले रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण बढ्दै गएको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाखभर डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
त्यस्तै सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय पनि गरेको छ।
मन्त्रीका अनुसार अब स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना बन्द गर्दै मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ।
त्यस्तै बैठकले शहरी क्षेत्रका विद्यालय पनि बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनिएको छ।
शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
