कीर्तिमानी साझेदारीमा नेपालद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ । कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ।

टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको थियो।

Advertisement

डेब्यु गरिरहेका कुशल र आसिफले पहिलो विकेटमा १ सय १६ रनको साझेदारी गरेपछि नेपालले १५ ओभरमै लक्ष्य पुरा गर्‍यो। यो साझेदारी ट्वान्टी २० मा नेपालको सबैभन्दा ठूलो साझेदारी हो।

कुशलले ४६ बल खेली ५ चौका र ५ छक्का प्रहार गर्दै ६२ रन बनाए । आसिफ ५४ रनमा अविजित रहे। उनले ३८ बल खेली ४ चौका र ४ छक्का प्रहार गरे। विजयी छक्का प्रहार गरेका कप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाइ अविजित रहे।

यसअघि नेदरल्यान्ड्सलाई सस्तोमा रोक्न सन्दीप लामिछानेले नेपालबाट २ विकेट लिए। उनले ४ ओभरमा २२ रनमात्र खर्चेका थिए।

खेलको दोस्रो ओभरमा म्याक ओडोवडलाई १० रनमा एलबीडब्लु आउट गरी उनले विकेट लिन सुरु गरेका थिए। अर्को ओभरमा सोमपाल कामीले बेन कुपरलाई शुन्यमा एलबीडब्लु नै आउट गरे।

नेदरल्यान्ड्सबाट बास डी लिडले सर्वाधिक ४१ रन बनाए। उनले ४९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे। ओपनर स्कट इडवार्डसले ३२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै ३० रन बनाए।

कप्तान पिटर सिलार २२ र एन्टोनिउस स्टलले अविजित रहँदै २० रन बनाएपछि नेदरल्यान्ड्सले अन्तिम ५ ओभरमा ५८ रन जोडेको थियो।

सन्दीप बाहेक नेपालबाट सोमपाल, साहब आलमले १र१ विकेट लिए। कुशल भुर्तेल र आसिफ शेखसँगै साहबले नेपालबाट ट्वान्टी २० मा डेब्यु गरेका थिए।

More News last news
Loading...