वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।

सीसीएमसीको शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। तर, विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी अनलाइन माध्यमबाट पढाउनु पर्ने र परीक्षाहरु पनि सुचारु हुनुपर्ने छ।

Advertisement

बैठकले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने निर्णय गरेको छ।

यसैबीच सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड जारी गर्ने भएको छ। बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रुप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए।

पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ।

तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो। सीसीएमसीले गरेको सिफारिस भने मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।

अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने, परीक्षा नरोकिने

सीसीएमसीका सचिव खगराज बरालले शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द हुने अर्थमा यो सिफारिसलाई बुझ्न नमिल्ने बताए । विद्यालयहरूले अनलाइन कक्षाहरू सञ्चालन गर्नुपर्ने र परीक्षाहरु पनि नरोकिने उनले बताए ।

शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द गर्दा मेडिकल कलेजका विद्यार्थीलाई पर्न सक्ने असरका विषयमा पनि सीसीएमसीले ध्यान दिएको उनले बताए । उनका अनुसार शनिबारको बैठकमा खासगरी स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्डसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ।

More News last news
Loading...