काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै पुनःस्थापित नेकपा माओवादी केन्द्रले संघीयदेखि प्रदेशसम्मका १६ सांसद् गुमाएको छ। नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्थापित भए लगत्तै माओवादी केन्द्रका १६ सांसदले पार्टी परित्याग गरि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेलाई साथ दिएका हुन्।
यसरी एमालेलाई साथ दिनेमा गृहमन्त्री रामवहादुरसहित वहालवाला चार मन्त्री समेत रहेका छन्। माओवादीले संघीय सांसदमा ६ पद गुमाएको छ भने प्रदेशका १० सांसदले साथ छोडेका छन्।
माओवादीले कारवाही गरेकामा राष्ट्रिय सभाका सदस्यद्वय रामबहादुर थापा र चन्द्रबहादुर खड्का, संघीय प्रतिनिधिसभाका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन्। उनीहरुले माओवादीलाई छोडेर ओलीलाई साथ दिएपछि कारवाहीमा परेका हुन्।
यस्तै प्रदेश तर्फ प्रदेश २ मा सवैभन्दा धेरै सांसदले माओवादीको साथ छोडेका छन। प्रदेश २ मा तीन जना प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र एकजना समानुपातिक सांसद माओवादीले गुमाएको छ।
धनुषा–१ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, बारा–३ को (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट–३ को (ख) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाहले माओवादी त्यागेर एमालेलाई रोजेका हुन्। बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समीरले पनि माओवादी त्यागेका छन्।
माओवादीले लुम्बिनी र कर्णालीबाट प्रदेशबाट पनि दुई दुई सांसद् गुमाएका छन्। लुम्बिनीका प्रदेशसभा सदस्यमध्ये रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी एमाले प्रवेश गरेका हुन्।
कर्णालीबाट ठम्मर विष्ट र धर्मराज रेग्मी माओवादी कारवाहीमा परेका हुन्। उनीहरु पनि एमालेमै प्रवेश गरेका छन्। प्रदेश-१ बाट अर्थमन्त्री टंक आङ्बुहाङलाई गुमाएको माओवादीलाई सुदुरपश्चिम प्रदेशबाट झापट बोहोराले साथ छोडेका हुन्। गण्डकी र वागमती प्रदेशबाट भने अहिलेसम्म माओवादीले आफ्ना सांसद गुमाउन परेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
