९ बजेपछि रात्रीकालीन व्यवसाय बन्द गर्न सरकारको निर्देशन

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न निर्देशन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपनि बन्द गर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको मन्त्रालयद्वारा जारी सुचना उल्लेख गरिएको छ।

Advertisement

मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बुधबार सूचना जारी गर्दै संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थामा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ।

यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरुलाई आग्रह गरेको छ।

यसैगरी ठूला शहरहरुमा ५ सयभन्दा बढी र साना शहरहरुमा एक सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गर्न पनि मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ ।

मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

More News last news
Loading...