काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ।
पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका छन् ।
यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गरेका हुन्।
निलम्बन गरिएकोबारे पत्रमा लेखिएको छ, ‘तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चितउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ त्यस कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहङ्कार र आन्तकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो।’
साथै यो सच्चिनका लागि अन्तिम मौका भएको पत्रमा भनिएको छ। आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
