जम्बो टोलीसहित राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, भ्रमण टोलिमा को-को ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहानै बंगलादेश प्रस्थान गरेकी छन् ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा आज (सोमबार) बिहान ८:३० बजे राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान गरेकी हुन् ।

Advertisement

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गरिन् ।

ढाकामा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन्।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिने छ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभामा शहीदप्रति श्रद्धाञ्जलिका लागि पुग्ने कार्यक्रम छ ।

सोही दिन उनका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता हुने छ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमणमा छोरीसहित ५४ जना सहभागी

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी रहने छन् ।

यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा छन्।

भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने छ ।

बङ्गलादेशले नेपाललाई चटगाउँ र मोङ्ला बन्दगाहका साथै काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध सतहमार्गबाट पारवहन सुविधा उपलब्ध गराएको छ भने रोहनपुर–सिंहबादबाट मालबाहक रेल नेपालसम्म आवतजावत गर्न अतिरिक्त ‘रेल करिडोर’ प्रदान गरेसँगै कोलाकाता बन्दरगाहको विकल्पको रुपमा मोङ्ला बन्दरगालाई उपयोग गर्न मार्गप्रशस्त भएको छ।

नेपालका निम्ति कोलाकाताभन्दा मोङ्ला बन्दरगाह नजिक हुने भएकाले त्यसबाट कम लागतमा द्विपक्षीय व्यापार विस्तार गर्न सहयोग पुग्ने छ।

उक्त बन्दरगाहबाट विराटनगरस्थित एकीकृत जाँचचौकीमा मालसामन आइपुग्न २१७ किलोमिटर दूरी पार गर्नुपर्नेछ भने वीरगञ्जमा रहेको एकीकृत जाँचचौकी पुग्न ६०० किलोमिटर यात्रा गर्नुपर्ने छ।

More News last news
Loading...