एमाले संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान सुझावसहित पारित गरेको छ। शनिबार बिहान बसेको दलको बैठकबाट पास भएको विधानलाई दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको हो।

एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार दलको विधान परिमार्जनसहित पारित गरिएको हो। उनले भने, एमाले संसदीय दलको विधान संशोधन सुझावसहित पारित भयो। अब २९ सदस्यीय बोर्डको गठन हुने भयो। त्यसमा एक तिहाइ महिला सदस्य रहनुहुनेछ।

Advertisement

नयाँ विधानअनुसार दलको नेताले सांसदहरूलाई कारबाही गर्ने अधिकार दिइएको छ। भट्टराईले भने, ‘दलको नेतालाई स्पष्टिकरण सोध्ने अधिकार दिइएको छ। कुनै सदस्यले पार्टी, संसदीय दल र मुलुकको हित विरुद्धमा गतिविधि गरेको दलको नेतालाई लागेमा स्पष्टिकरण सोध्ने र कारबाही गर्ने व्यवस्था संशोधित विधानमा व्यवस्था गरिएको छ।’

त्यस्तै, संसदीय दलको उपनेता चयन गर्ने अधिकार पनि दलको नेतालाई दिइएको छ। एमालेमा यसअघि संसदीय दलले नेता र उपनेता चयन गर्ने व्यवस्था थियो। अब दलको नेताले मुख्य-प्रमुख सचेतक र सचेतकलाई झैं उपनेता चयन गर्न पाउनेछन्।

दलको विधान संशोधन लगायतका ओली समूहका निर्णयमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भने असन्तुष्टि रहेको छ। खनालनेपाल समूहले ओलीले बोलाएका बैठक बहिष्कार गर्दै आएका छन्।

More News last news
Loading...