काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले शुक्रबार (आज) एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले सम्बोधन गर्ने कार्यतालिका रहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट स्रोतले जनाएको छ।
स्रोतकाअनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ। सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक हुँदै छ।
बिहीबार (हिजो) वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक गरिएको थियो। सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।
विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने प्रेस नोटमा उल्लेख छ। साथै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने सहमति पनि भएको थियो।
सरकारले हत्या हिंसामा लागेको भन्दै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
