शुक्रबार प्रधानमन्त्री ओली र नेत्रविक्रम चन्द एउटै मञ्‍चमा देखिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबा एउटै मञ्चमा देखिने भएका छन्।

बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो। ३ बुँदे सहमतिसँगै विप्लव २ वर्षपछि सार्वजनिक हुन लागेका हुन्।

Advertisement

सरकारसँगको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका छन्।

साथै सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ। काठमाडौँमा आयोजित हुने उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्दले एउटै मञ्‍चबाट सम्बोधन गर्ने तयारी रहेको छ।

२०६९ को असारमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीप्रति असन्तुष्टि जनाउँदै मोहन वैद्यको नेतृत्वमा छुट्टै नेकपा माओवादी क्रान्तिकारी गठन गरिएको थियो।

तर २०७१ मंसिरमा मोहन वैद्य नेतृत्वको उक्त पार्टी क्रान्तिकारी हुन नसकेको भन्दै चन्दले नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए। दाहाल नेतृत्वको पार्टीले माओवादी आन्दोलन छाडेको जनाउँदै चन्दले आफूहरु मूलधारको माओवादी भएको बताउँदै आएका थिए ।

More News last news
Loading...