विप्लव समूहका नेतालाई पक्राउ नगर्न सरकारको निर्देशन

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ। वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो।

स्रोतका अनुसार समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएका थिए।

Advertisement

सरकारले २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता-कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्ने नीति अख्तियार गर्दै आएको थियो।

विप्लव समूहले वार्तामा बस्नु अगावै प्रतिबन्ध फुकुवा र जेलमा रहेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने माग राखेको थियो।समूहले वार्ताका लागि आउँदा विगतमा जस्तो नेता, कार्यकर्ताको गिरफ्तारी नहुने ग्यारेन्टी खोजेको स्रोतको भनाइ छ।

तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वार्ताको भइरहेका वेला कसैलाई पक्राउ नगरिने र वार्तामा बसेर प्रतिबन्ध फुकुवा हुने आवश्वसन दिएका थिए।

तत्कालै प्रतिबन्ध फुकुवा गर्ने विषयमा वालुवाटार विश्वस्त भइनसकेकाले वार्ताबाटै त्यसबारे टुङ्ग्याइने भनिएको गृह स्रोतको दाबी छ।

समूहसँग बुधबार एकैदिन दुई पटक प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ। वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको सरकारी पक्षको दाबी छ। तर, विप्लव समूहले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

मंगलबारमात्रै सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो।

लगत्तै प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पनि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता समिति बनाएका थिए।

More News last news
Loading...