चितवन । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफू मरिहत्ते नगर्ने तर पाएदेखि नभाग्ने बताएका छन्।
चितवनको रत्ननगरमा पार्टीका नेता स्वर्गीय एकनाथ रानाभाटको १३ औँ दिनको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भावी राजनीतिक कदमका विषयमा घोचपेच समेत चलेको थियो।
वरिष्ठ नेता पौडेलले संसद् विघटनबाट जोगिए पनि विकृतिबाट जोगाउन आवश्यक रहेको बताएका थिए। आफ्नो हैसियत र औकातभन्दा बढी आकंक्षा र महत्वकांक्षा राख्नु विकृति भएको पौडेलले बताए।
कांग्रेसले सही रूपमा विपक्षको भूमिका निभाउनु पर्ने पनि उनले बताए। हामी संसद्मा सानो संख्यामा छौं तर भूमिका र महत्व ठूलो छ। यो भूमिका पूरा नगरे लोकतन्त्रको रक्षा कसरी हुन्छ ? पौडेलले भने।
पौडेलपछि बोलेका सभापति देउवाले भने आफू पार्टी सरकारमा जाँदा र आफू प्रधानमन्त्री हुँदा पार्टीलाई फाइदा हुने बताएका थिए।
महामन्त्री शशांक कोइराला भने वर्तमान राजनीतिक विषयमा मौन रहे। बुधबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भने कोइरालाले कांग्रेस दाहाल-नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने बताएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
