जनकपुर । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ।
सोमबार साझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिको अध्यक्ष राउतको गाडीबाट घुस वापतको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो।
आयोगको टोलीले सोमबार साँझ गाडीलाई रोक्न खोज्दा गाउँपालिका अध्यक्ष राउत भने गाडीबाट फरार भएका भएको प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए।
भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार टोली खटिएको थियो।
गाउँपालिका अध्यक्ष राउत उक्त गाउँपालिकाका सवारी चालक वीर बहादुर मगरले चलाएको प्र।२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा सवार थिए।
अख्तियार टोली देखेपछि गाउँपालिका अध्यक्ष त्यतिबेलै भागेको र चालकले पनि ८ लाख रुपैयाँ क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ को बाटो छेउमा फ्याँकेका थिए।
पछि सवारी चालक मगरलाई वटेश्वर गाउपालिका वडा नम्बर ४ बाट नियन्त्रणमा लिइएको प्रवक्ता रिमालले बताए। फरार गाउँपालिकाका अध्यक्ष राउतको खोजी कार्य भइरहेको जनाएको छ।
यसैबीच गाउँपालिकाका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै सरोकारवालाले गाउँपालिकामा तालाबन्दी गरेका छन्।
विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले उनलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
