पूर्वसांसद रानाभाटको उपचारका क्रममा निधन

काठमाडौँ । पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो ।

उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो। रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी रानाभाट विसं २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो।

Advertisement

कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा उहाँको जन्म भएको थियो ।

रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो।

उहाँका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। उहाँको मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिँदैछ।

कांग्रेस चितवनले शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ। जिल्ला सभापति जीतनारायण श्रेष्ठले उहाँको निधनले सिङ्गो कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभयो।

उहाँका अनुसार बिहान ८ः३० बजेदेखि एक घण्टा उहाँको शव पार्टी कार्यालय नारायणगढमा राखिनेछ ।

More News last news
Loading...