काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस। २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । गएको माघ २० गते यस वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गर्ने निर्णय गरेको थियो।
समितिको तीन दिन कार्यक्रम गर्ने निर्णयअनुसार हिजोदेखि नै विभिन्न कार्यक्रम भइरहेका छन्। सरकारले बिहान साढे ९ बजे काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायत मन्त्री र उच्च अधिकारी सहभागी हुनेछन् ।
फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ। सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
