काठमाडौँ । अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन्।
पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन्।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो।
त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।
यस्तै, अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो।
अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्चले तामेलदार खटाएको थियो । तर, अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन्।
तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन्। म्याद बुझेलगत्तै लिखित जवाफ पनि पेश गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
